
काठमाडौँ । सङ्खुवासभा पाँचखपन नगरपालिका-६ मा रहेको वाना उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षमाथि बालयौन दुरुपयोगको आरोप लागेको छ ।
स्थानीय निजी विद्यालयमा अध्ययनरत आठ बर्सिया बालिकामाथि करणीको मनसायले बालयौन दुरुपयोगको आरोप विव्यस अध्यक्ष गोविन्द श्रेष्ठमाथि लागेको हो ।
घटना गत जेठको भएता पनि अहिले आएर सार्वजनिक भएको छ ।
उक्त घटना वडाध्यक्ष विष्णु कुमार श्रेष्ठको रोहबरमा चार लाख रुपैयाँमा मिलापत्र गरिएको सूचना केटिएम दैनिकले प्राप्त गरेको थियो । चार लाख पाएपछि पीडित परिवार बसिरहेको स्थान छाडेर आफ्नो पुर्ख्यौली घर गएको पनि स्रोतको दाबी छ ।
तर, वडाध्यक्ष श्रेष्ठले उक्त कुराको खण्डन गरे ।
उनले भने, ‘घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्ला त्यस विषयमा म केही बोल्दिन तर मेरो रोहबरमा पीडित परिवारलाई चार लाख रुपैयाँ दिएर मिलापत्र गरेको भनिएको छ त्यो झुटो र कपोलकल्पित आरोप हो ।’
उनले थपे, ‘पीडित परिवारमा मैले एक रुपैयाँ पनि दिएको छैन । कसैले आरोप लगाउँछ भने त्यसलाई पुष्टि गर्न म चुनौती दिन्छु ।’
आरोप लागेका विव्यस अध्यक्षसँग पनि हामीले कुराकानी गरेका छौँ । कुराकानीको क्रममा उनले राजनीतिक प्रतिशोधको कारण आफूमाथि आरोप लगाइएको दाबी समेत गरे ।
उनले आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै भने, ‘मलाई षडयन्त्रपूर्वक फसाउनको लागि उक्त आरोप लगाइएको हो ।’
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र पोद्दार अहिलेसम्म प्रहरीमा घटनाको विषयमा जाहेरी नपरेको बताउँछन् ।
उनले भने, ‘बिहीबार सूचना पाएपछि हाम्रो टोली उक्त घटनाको अनुसन्धान गर्नको लागि खटिएको छ । संवेदनशील विषय भएकाले हामीले यसलाई गम्भीर रूपमा लिएका छौँ ।’
स्रोतले भनेजस्तै पीडित बालिकाको परिवार बसिरहेको स्थान छाडेर आफ्नो पुर्ख्यौली घरमा भेटिएका छन् ।
बिहीबार प्रहरीले बालिकाको अभिभावकलाई सोही पुर्ख्यौली घरबाट ल्याएर सोधपुछ समेत गरेको थियो । सोधपुछका क्रममा समेत उनीहरू यस विषयमा खुलेर बोल्न चाहेनन् । यसले पनि केही शङ्का उब्जाएको छ ।
उनीहरू अलैँची टिप्नको लागि पुर्ख्यौली घर गएको समेत प्रहरीसामु बताएका छन् ।
सादा पोसाकमा खटिएको प्रहरी टोलीले यस घटना जबरजस्ती करणी नभएको भएता पनि बाल यौन दुरुपयोग हुनसक्ने आशङ्का गरेको स्रोतको दाबी छ । त्यसैले पुन आइतबार अभिभावकलाई उपस्थित हुन भनिएको छ ।
बालिकालाई महिला प्रहरीले परामर्श दिइरहेको पनि जानकारी प्राप्त भएको छ ।
वाना उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द श्रेष्ठले बजारमा यस विषयमा केही समयदेखि हल्ला चलेको पुष्टि गरे । विव्यस अध्यक्ष र आफ्नो नाम थर एउटै भएकोले केही व्यक्तिहरू झुक्किएको बताउँदै उनले भने, ‘आरोप लागेजस्तै घटना भएको भए पीडित परिवारले प्रहरीमा उजुरी दिनुपर्यो, हैन भने सोही परिवारले उक्त आरोपको खण्डन गर्नुपर्यो ।’
स्थानीयले उक्त घटनापश्चात् बालिकालाई उपचारको लागि तराई हुँदै काठमाडौँ समेत लगेको बताए पनि त्यस कुरालाई पुष्टि गर्न सकिएन ।
केटिएम दैनिकसँग पीडित परिवारको भने सम्पर्क स्थापित हुन सकिरहेको छैन ।
बालयौन दुरुपयोग भनेको के हो ?
कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिन्छ ।
मुलुकी अपराध संहिता २०७४ ले बालयौन दुरुपयोगमा कसुरदार ठहर गरेको व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिवाना हुने उल्लेख गरेको छ ।
थप अपडेट
