
काठमाडौं । विभिन्न सामाजिक सञ्जालका प्लेटफर्ममार्फत महिलाहरूलाई टार्गेट गरी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा पर्सा बहुदामाई नगरपालिका-८ बस्ने ३० वर्षीय राज कुमार पण्डीत र रौतहट कटहरीया नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश कुमार यादव रहेका छन् ।
उनीहरूले टिकटक, फेसबुक, ह्वाट्सएपमा लगायतका प्लेटफर्ममार्फत जमजम ईलेक्ट्रोनिक्स को लक्की ड्रमा आईफोन जितेको र कस्टम क्लियरेन्सको लागि पैसा पठाउनु पर्छ भन्दै महिलाहरूलाई म्यासेज गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
उनीहरूले पीडित महिलाहरूलाई आइफोनको लोभ देखाएर विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेका थिए ।
साइबर ब्युरोबाट खटिएको टोलीको उनीहरूको साथबाट नगद ४९ लाख ९५ हजार रुपैयाँ, मोबाईल ७ थान, सिम १ सय ८३ थान, एटिएम कार्ड १२ थान र राउटर १ थान बरामद गरेको छ ।
साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा दुई व्यक्तिको संलग्नता रहेको खुल्न आएपछि उनीहरुलाई ललितपुर, कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेको हो ।
पक्राउ पर्ने समयमा उनीहरूले ठगी गरेको रकमको ओछ्यान लगाएर सुतेको अवस्थामा भेटिएको साइबर व्यूरोका उप-निर्देशक रहेका प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए ।
दुवैजनालाई भदौ ०५ गतेदेखि लागु हुने गरी अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको एसपी रायले बताए ।