काठमाडौं । वैदेशिक रोजगारीको लागि कुकद्वीपसमूह (न्यूजिल्याण्डबाट छुट्टिएर १५ वटा टापुले बनेको देश) मा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-६ स्थाई घर भई हाल काठमाडौं महानगर-६ सरस्वतीनगर बस्ने वर्ष ३७ को प्रकाश बोहरा रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज मिनभवनबाट पक्राउ गरेको हो ।
बोहराले संजिव चौलागाई समेत दुई जनालाई वैदेशिक रोजगारीको लागि त्यहाँ पठाईदिने र त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख रुपैयाँ लाग्ने बताएका थिए ।
त्यहाँ पुगेपछि मासिक एक लाख रुपैयाँ तलब हुने गरी सेक्युरिटी गार्ड र स्टोरकिपरमा काम लगाइदिने प्रलोभनमा पारेर पीडितबाट चार लाख रुपैँया लिएका थिए ।
पीडितहरूबाट रकम लिएपछि बोहोरा सम्पर्क विहीन भएपछि पीडितहरूले आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए ।
विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्र लेख्दै नीज प्रकाश बोहरालाई विभागमा उपस्थित गराइदिन अनुरोध गरेसँगै कार्यालयले खोजतलास गरेर बोहरालाई नियन्त्रणमा लिएको हो ।
उनलाई आजै थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।