कास्की । पूर्वी रुकुमदेखि बेचविखन गर्नको लागि ल्याइएको अवैध लागूऔषध अफिमसहित प्रहरीले तीनजनालाई पोखराबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पूर्वी रुकुम पुथाउत्तरगंगा गाउँपालिका- ०२ बस्ने वर्ष ४१ को दिपेश पुन सोही पालिकाको वडा नं. ०१ बस्ने वर्ष ४० को बिराज पुन र बाग्लुङ निसीखोला गाउँपालिका-५ बस्ने वर्ष ४६ को तेजेन्द्र बहादुर पुन रहेका छन् ।
लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
शनिबार राती १०:०० पोखरा महानगरपालिका-२५ हेम्जा मा पाँच केजी ७०० ग्राम अफिम बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले दिपेश पुनलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरेपछि सोही लागू औषध खरिद विक्रीको कारोबारमा संलग्न तेजेन्द्र बहादुर पुन र बिराज पुनलाई समेत राती नै लेकसाइडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक श्रवण कुमार वि.क. ले बताए ।
पक्राउ परेका व्यक्तिहरूलाई आज प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
उनीहरूउपर लागू औषध कसूर मुद्दा दर्ता गरी सम्मानित कास्की जिल्ला अदालतमा पहिलोपटक २० दिनको म्याद थप भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
भारतमा औषधि उत्पादनमा प्रयोग गर्न वैध रुपमै अफिम खेती हुने गरे पनि लागुऔषधका कारोबारीले यसको अवैध उत्पादन गरी हेरोइन बनाउन सक्रिय भएपछि भारत सरकारले कडाइ गरेको छ। त्यसबाट विस्थापित कारोबारी नेपालमा सक्रिय भएको प्रहरी अनुसन्धानको निचोड छ।
भारतमा अफिमलाई ब्राउनसुगर र पाकिस्तानलगायतका मुलुकमा हाइट सुगर बनाउन प्रयोग गर्ने गरिएको छ। विश्वमा सबैभन्दा बढी यसको अवैध खेती अफगानिस्तानमा हुने गरेको छ। संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकअनुसार म्यानमारमा अफिमको खेती फस्टाएको छ।
अफिमको खेती, उपयोग र व्यापार विश्वमा गैरकानुनी मानिन्छ। नेपालमा लागूऔषध नियन्त्रण ऐन ०३३ को दफा ८४ को ६ (३) मा भएको व्यवस्थाअनुसार एक सय ग्रामभन्दा माथि कारोबार, ओसारपसार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।