ललितपुर । बालयौन दुरूपयोग गरेको आरोपमा ललितपुर प्रहरीले एक चाइल्ड केयरका सञ्चालकलाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका-२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका संचालक हुम्ला सिमिकोट गाउँपालिका-६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बालयौन दुरूपयोग/दुर्व्यबहार गरेको उजुरी परेको थियो ।
सञ्चालकले ती बालिकाको संवेदनशिल अंग योनी तथा शरिरको बिभिन्न भागमा समाउने, सुमसुम्याउने कार्य गरेको र सो कार्य नगर्नु भन्दा बालिकालाई निलडाम हुने गरी कुटपिट गरी शारिरिक यातना दिएको भन्दै उजुरी परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक नवराज कार्कीले केटिएम दैनिकलाई बताए।
बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ । सञ्चालकउपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको एसपी कार्कीले जनाए ।
बालयौन दुरुपयोग/दुर्व्यबहार भनेको के हो ?
बालबालिकाको अधिकारको सम्मान, संरक्षण प्रवद्धन र परिपूर्ति गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्न संघीय संसदले बालबालिका सम्बन्धी ऐन, २०७५ बनाएको छ । उक्त ऐन २०७५ साल असोज २ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएर लागू भएको छ ।
सोही ऐनको दफा ६६ को उपदफा ३ मा कुन कुन कुरालाई बालयौन दुरुपयोग/दुर्व्यवहार भनेर बुझ्ने स्पष्ट ब्याख्या गरेको छ । जसअनुसार कसैले बालबालिका उपदर देहाय बमोजिमको कुनै कार्य गरेमा बाल यौन दुर्व्यवहार गरिनेको मानिन्छ ।
क) अश्लील चित्र, श्रव्यदृश्य वा यस्तैखाले अन्य सामग्री देखाउने, देखाउन लगाउने । अश्लील तथा यौनजन्य आचारण, व्यवहार झल्कने अभिव्यक्ति, हाउभाउ प्रदर्शन गर्ने, बाल अश्लिलता प्रदर्शन गर्ने, गराउने ।
ख) बालबालिकाको वास्तविक वा काल्पनिक अश्लील चित्र वा श्रव्यदृश्य सामग्री वितरण गर्ने, भण्डारण गर्ने वा त्यस्ता सामग्री प्रयोग गर्ने,
ग) यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने,
घ) अश्लिल कार्य तथा सामग्री निर्माणमा प्रयोग गर्ने,
ङ) यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अङ्कमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अङ्ग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने,
च) कामवासना वा यौन उत्तेजना उत्पन्न गर्न बालबलिकालाई प्रयोग गर्ने वा गराउने,
छ) यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने,
ज) बाल यौन शोषण गर्ने वा गराउने,
झ) यौनजन्य सेवा उपलब्ध गराउने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने,
ञ) यौन दुर्व्यवहार गर्ने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने,
ट) वेश्यावृत्ति वा अन्य यौनजन्य कार्यमा प्रयोग गर्ने ।
सजाय के हुन्छ ?
बालयौन दुर्व्यवहार गर्नेलाई ७५ हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था सोही ऐनमा छ ।