
कास्की । एक महिलालाई मरणासन्न हुनेगरी कुटपिटपछि झाडीमा फ्याँकेर उनको साथमा रहेको चार हजार रुपैयाँ र मोबाइल फोन लिएर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका-१८ गुफाडाँडा नजिकै झाडीमा एक महिला गत जेठ ५ गते राति १० बजेतिर गम्भिर घाईते अवस्थामा फेला परेकी थिइन् ।
ती महिलालाई उद्दार गरी उपचारपश्चात घटनाको बारेमा अनुसन्धान गर्दै जाँदा प्रहरी उनको साथमा रहेको चार हजार नगद र मोबाइल फोन लुट्नको लागि ती व्यक्तिले मरणासन्न हुने गरी कुटपिट गरेको र त्यसपछि झाडीमा फ्याँकेर फरार भएको खुलेको थियो ।
उपचारमा संलग्न चिकित्सकको सहयोगमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा टाउकोमा फलामको हथौडा तथा धारिलो हतियार चक्कु समेत प्रयोग गरेको पाइएको छ । महिलाको टाउकोको विभिन्न भाग, दायाँ आँखामा समेत हतियार प्रयोग भएको देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार वि.क. ले केटिएम दैनिकलाई बताए ।
यस घटनामा संलग्न व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ बेनीघाट रोराङ गाउँपालिका-१० डुंगे घर भएका वर्ष २५ को दिपेन गुरुङ भन्ने सन्त बहादुर मगर रहेको डिएसपी वि.क. ले बताए ।
मगरलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।
मगरमाथि कास्की जिल्ला अदालतबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।