काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अमेरिकी राहदानी बाहक ४९ वर्षका केभिन वेस्ले फिलिप्स रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
उनको साथबाट अमेरिकी डलर १ सय दरको ३ सय ८० थान र श्रीलंकन रूपी ५ हजार दरको ५३ थान,१ हजार दरको ४ थान, ५० दरको ५ थान र २० दरको ५ थान बरामद भएको बताइएको छ ।
फिलिप्स भिस्टारा एयरलाइन्सको उडानद्वारा उनी सोमबार काठमाडौँबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका थिए ।
ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागबाट उक्त विदेशी मुद्रा फेला परेको उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अमेरिकन नागरिकलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा राखिएको छ ।