काठमाडौँ । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका-५ घर भई हाल काठमाडौँको तार्केश्वर, फुटुङ बस्ने वर्ष २९ की सुस्मा तामाङ रहेकी छन् ।
तामाङले संजय गिरीलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु, त्यसको लागि रु. छ लाख रुपैयाँ लाग्ने भन्दै पटक पटक गरी रु पाँच लाख पचासी हजार रुपैयाँ लिएपछि सम्पर्कविहीन भएकी थिइन् ।
उनले गिरीलाई माल्टा पुगेपछि प्रतिष्ठित होटेलमा काम लगाइदिने र मासिक तलब एक लाख रुपैयाँभन्दा बढी हुने आश्वासन दिलाएकी थिइन् ।
पैसा लिएर तामाङ सम्पर्कविहीन भएपछि गिरीले आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
विभागले तामाङलाई पक्राउ गरी उपस्थित गराइदिन अनुरोध गरेसँगै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।
तामाङको खोजतलास गर्ने क्रममा आज फुटुङबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।