काठमाडौं । मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिरहा गोलबजार नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने ४४ वर्षीय भविन्द्र नाथ लामालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लामाले एक जनालाई वैदेशिक रोजगारका लागि मौरिसस पठाई गार्मेन्ट सिलाईमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए ।
उनले पीडितबाट पटकपटक गरी ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो ।
विभागको पत्र पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका-१६ वनस्थली ढुंगेधाराबाट पक्राउ गरेको हो ।
लामालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।