काभ्रेपलान्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित हुनुपर्ने बताएका छन् ।
कान्ति बाल अस्पतालले विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुडे चिल्ड्रन्स रिसर्च हस्पिटलको सहकार्यका धुलिखेलमा बिहीबार आयोजना गरेको ‘नेशनल वर्कसप अन एसिलेरेटिङ चाइल्डहूड क्यान्सर इनिसिएटिभ ’ कार्यशाला समापनको अवसरमा बोल्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।
मन्त्री बस्नेतले भने, ‘नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित गर्नु हाम्रो सामूहिक दायित्व हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो दायित्व पुरा गर्न पूर्ण रूपमा प्रतिबद्ध छ । ’
कार्यशालामा सहभागी स्वदेशी र विदेशी बाल क्यान्सर रोग विज्ञहरूको सुझाव र सल्लाह अनुसार बालबालिकामा हुने क्यान्सरको उपचारका लागि सरकारले पहल गर्ने मन्त्री बस्नेतको दाबी छ ।
मन्त्री बस्नेतले बालबालिकाको क्यान्सर उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेको उपचार सेवाको प्रशंसा गर्दै भविष्यका चुनौती सामना गर्ने गरी योजना बनाएर अगाडि बढ्नु पर्ने सुझाव दिए ।
मन्त्री बस्नेतले क्यान्सरको सङ्क्रमण देखिएका बालबालिका ठुलो सङ्ख्यामा उपचारमा नआएको तथ्याङ्कले देखाएकाले उनीहरूलाई उपचार ल्याउनु पर्ने र निको हुने दर बढाउने गरी काम गर्न विज्ञहरूलाई सुझाव दिए ।
कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले नेपालमा बर्सेनि १५ सय देखि २ हजार जना बालबालिकामा क्यान्सर देखिने अनुमान गरिए पनि त्यसको एक तिहाईमात्र उपचारमा आउने गरेकोले बाँकी बच्चाहरूको खोजी गरेर उपचारमा ल्याउनु पर्ने अहिलेको प्रमुख चुनौती भएको बताए ।
उनले भने, ‘वर्षमा १५ सय देखि २ हजार नयाँ बालबालिकामा क्यान्सर देखिन्छ । तर उपचारमा ५०० मात्र आउँछन् । दुई तिहाइलाई पनि उपचारमा ल्याउनु पर्छ ।’
कान्ति बाल अस्पतालका क्यान्सर विज्ञ डा.सुधिर सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै विकसित देशहरूमा ८५ प्रतिशत बालबालिकालाई क्यान्सरको उपचार पछि निको बनाउन सकिने अवस्था रहेको तथ्याङ्क प्रस्तुत गर्दै नेपालमा वास्तविक तथ्याङ्कको अभावमा निको हुने दर यकिन गर्न समेत समस्या रहेको बताए ।
कार्यशालामा विश्व स्वास्थ्य सङ्गठन मुख्य कार्यालय, दक्षिण पूर्वी एसियाली राष्ट्रका बाल क्यान्सर विज्ञहरू, विभिन्न देशबाट आउनु भएको बाल क्यान्सर रोग विज्ञहरू, अनुसन्धानकर्ता, नेपालका विभिन्न क्यान्सर अस्पतालका विज्ञहरू र स्वास्थ्य मन्त्रालयका अधिकारीको सहभागिता थियो ।