काठमाडौँ । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै रकम लिई सम्पर्कविहीन भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-३ मदनपुर घर भई हाल टोखा नगरपालिका-३ धापासी बस्ने वर्ष ३८ को युवराज लिम्बु रहेका छन् ।
लिम्बुले वैदेशिक रोजगारीको लागि भुवन भट्टराईलाई माल्टा पठाइदिन्छु त्यसको लागि बाह्र लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक एक लाख तलब हुने जागिर लगाइदिने प्रलोभनमा पारेका थिए ।
उनले माल्टा पुगेपछि पानीजहाजमा काम लगाइदिने र तलब राम्रो हुने आश्वासन दिएका थिए ।
राम्रो कमाई हुने आशामा पीडितले पटक पटक गरी लिम्बुलाई रु. छ लाख तीस हजार रुपैयाँ दिएका थिए ।
उक्त रकम लिएर लिम्बु सम्पर्कविहीन भएपछि आफू ठगिएको भन्दै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन् ।
विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गर्दै लिम्बुलाई कार्यालयमा उपस्थित गराइदिन आग्रह गरेको थियो ।
प्रहरीले खोजतलासको क्रममा लिम्बुलाई बिहीबार दिउँसो काठमाडौँको कालोपुलबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।