काठमाडौं । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ घोराही उपमहानगर-१२, साहीपुर स्थाई घर भई काठमाडौंको तिनकुने बस्ने २६ वर्षीय सौरब गौतम रहेका छन् ।
गौतमले उदय भण्डारी सहित दुई जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख पचास हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक रु एक लाख २० हजार तलब हुने काममा लगाइदिने भन्दै प्रलोभनमा पारेका थिए ।
उनले पीडितहरूले विश्वासमा पारेर पटकपटक गरी चार लाख रुपैयाँ लिएपछि सम्पर्कविहिन भएका थिए ।आफूहरू ठगिएको थाहा पाएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
पीडितहरूको उजुरीपछि विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्र लेख्दै गौतमलाई पक्राउ गरी विभागमा उपस्थित गराउन अनुरोध गरेको थियो ।
अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गौतमलाई बुधबार (हिजो) दिउँसो भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-राधेराधेबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।