काठमाडौं । नेपालमा चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या रहेको पाइएको छ ।
नेपाल नेत्रज्योति संघले करिब आठ लाख बालबालिकाको आँखा परिक्षण गर्दा ती मध्ये चार प्रतिशतमा दृष्टिदोषको समस्या देखिएको हो ।
अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले संचालन गरेको उक्त परियोजना मार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका सात लाख ८५ हजार ४६० जना बालबालिकाको निशुल्क आँखा परिक्षण गरिएको हो ।
सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजना मार्फत ६ देखि १८ बर्षसम्मका बिद्यालय जाने र नजाने बालबालिकाहरुको आँखा परिक्षण गरिएको थियो । आँखा परिक्षण पश्चात समस्या देखिएका बालबालिकाहरुलाई निशुल्क चस्मा तथा शल्यक्रिया समेत गरिएको नेपाल नेत्रज्योति संघका कार्यक्रम व्यबस्थापक रन्जन शाहले जनाए ।
उक्त परियोजना मार्फत चार बर्षमा २ हजार ५ सय ५५ वटा निजी तथा सामुदायिक बिद्यालयहरुमा आँखा जाँच गरिएको थियो । उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३ सय ८० जना बालबालिकाहरुलाई निशुल्क चस्मा वितरण गर्नुका साथै २०१ जना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रिया समेत गरिएको शाहले बताए ।
शाहका अनुसार आँखा जाँच गरि वितरण गरिएको चस्मा मध्ये ६३ प्रतिशत बालबालिकाहरुले मात्र नियमित रुपमा चस्मा प्रयोग गरिरहेका छन् । ‘चस्मा लगाउँदा साथिहरुले जिस्क्याउने, आमाबाबुले छोरीहरुलाई विबाह गर्न कठिनाई हुने भन्दै चस्मा लगाउन नदिने, चस्मा लगाउँदा सहजता नहुने र लजाउने जस्ता कारणहरुले पनि बालबालिकाहरुले नियमित रुपमा चस्मा नलगाएको देखिन्छ’ शाहले भने ।
‘यसरी वितरण गरिएका चस्माको नियमित प्रयोगबाट ति बिद्यार्थीहरुको शैक्षिकस्तरमा समेत उन्नति भएको छ, उनिहरुको दैनिकीमा समेत धेरै नै परिवर्तन आएको देखिन्छ’ शाहले भने ।
नेपाल नेत्रज्योति संघले कोहि पनि नागरिकहरु पहुँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले विभिन्न दातृ निकायहरुसंगको सहकार्यमा देशैभरी विभिन्न निःशुल्क शिविरहरु आयोजना गरिरहेको संघका कार्यकारी निर्देशक डा.शैलेस कुमार मिश्रले बताए ।
परियोजनाले कार्यक्रम संचालित जिल्लाका महिला स्वास्थ्य स्वयसेविका, शिक्षक तथा बिद्यायलका भिजन एम्ब्यास्डरहरुलाई आँखा जाँच सम्बन्धी आधारभुत तालिम समेत प्रदान गरिएको थियो ।