म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ मा रहेको पर्यटकीय तथा प्राकृतिक तातोपानी कुण्डलाई सुन्दर बनाउन थालिएको छ ।
पोखरा पर्यटन बोर्डको सहयोगमा तातोपानी कुण्ड व्यवस्थापन समितिले सुन्दर बनाउन लागेको हो । सिङ्गा-तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण खड्काले कुण्ड परिसरका भौतिक संरचनालाई मौलिक र वरपर बगैंचा बनाएर आकर्षक बनाउन थालिएको बताए।
“पहिलो चरणमा यस वर्ष मौलिकता झल्कने प्रवेशद्वार र कपडा फेर्ने ठाउँ बनाउन लागेका छौं”, उनले भने, “बजारदेखि कुण्डमा जाने पैदलमार्गको वरपर र पाखोमा फूल रोपेर बगैंचा बनाइसकेका छौं ।” शरीर डुबाएर स्नान गर्न तलाउमा जाने प्रवेशद्वारलाई मौलिक बनाउन भक्तपुरे इँटा प्रयोग गरिएको सचिव खड्काले बताए।
स्नानपछि कपडा फेर्न महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा बनाउन लागिएको छ । पर्यटन बोर्डका सहायक प्रमुख नवराज पोखरेलले यस वर्ष तातोपानी कुण्डको सौन्दर्यता थप्न रु १५ लाख बजेट विनियोजन गरिएको बताए। कुण्ड समितिको थप रु तीन लाख लागत साझेदारीमा सो काम सुरु गरिएको हो ।
आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बोर्डले जनाएको छ । दाताको सहयोगमा कुण्ड व्यवस्थापन समितिले यसअघि जलमाई मन्दिर र वुद्धको मूर्तिसहित स्तम्भ निर्माण गरेको थियो ।
म्याग्दी नदीको किनारबाट प्राकृतिकरूपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नानसहितको उपचार र अवलोकनका लागि तातोपानीमा पाहुनाहरू आउने गर्छन् । कुण्ड परिसरको वातावरणलाई रमणीय र आकर्षक बनाइने कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए।
बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको निको हुने त्यहाँ नुहाउन आउनेहरूको भनाइ थियो । प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै, विदेशबाट पनि मानिस आउने गर्छन् ।
विसं २०७९ साउनदेखि २०८० जेठ महिनासम्म १७ हजार नौ सय ९३ जनाले स्नान गरेका समितिका कर्मचारी रेशम कार्कीले बताए। तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा तीन सय ५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ ।
एक दिनमा दुईपटक दुई-दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच-दश मिनेटसम्म पछ्यौरा, व्याल्यङ्केट, पलास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना ननिस्कँदासम्म विश्राम गरिन्छ । सात दिनसम्म स्नानका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क तोकिएको छ ।
प्रवेशशुल्क र चन्दा सहयोगवापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ । बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ ।
विगत १३ वर्षदेखि सरस्वती माविका १६ जनामध्ये चार निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक रु एक लाखका दरले सहयोग गर्दै आएको छ ।