काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपाल घरेलु टोली फिलिपिन्ससँग पराजित भएको छ ।
फिलिपिन्सको रिजल मेमोरियल स्टेडियममा आज भएको खेलमा नेपाल फिलिपिन्ससँग १-० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले गोल खाएको हो । फिलिपिन्सका जार्भे गायोसोले खेलको ४९औं मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो ।
भारतमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसीपको तयारीस्वरुप नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको हो । साफ च्याम्पियनसीप आगामी असार ६ देखि १८ गतेसम्म हुनेछ । च्याम्पियनसीपमा नेपालसहित आयोजक भारत, बङ्गलादेश, कुवेत, लेबनान, भूटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भूटान र बङ्गलादेश रहेका छन्।