मनहरी । मकवानपुर प्रहरीले रु ५४ लाख बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब रु ५४ लाख ४८ हजार बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोष्टमा हेटौंडा आउँदै गरेको प्रदेश २-०३-००१ ख ०१५९ नं.को बसमा उक्त सुनसहित युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वामदेव गौतमले बताए।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ का २२ वर्षीय किसन साह रहेका गौतमले बताए। साहले जुत्ताको नोकभित्र पाँच सय ६१ दशमलव ३० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा समातिएको प्रहरीले जनाएको छ ।