तनहुँ । व्यास नगरपालिका-१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुवैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ ।
जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो । चिकित्सकको लापरवाहीका कारण महिला र शिशुले ज्यान गुमाउनुपरेको मृतकका आफन्तजनले बताएका छन् ।
छानबिनका लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिइएकाले पोष्टमार्टमको रिर्पोट आएपछि छलफल गर्ने सहमति भएको मृतककी हजुरबुबा चीजबहादुर दरैले जानकारी दिए। भोलि पोष्टमार्टमको रिर्पोट आएपछि उपचारमा संलग्न चिकित्सक दोषी ठहरिए कानूनी कारबाही अघि बढ्ने उनले बताए।
मृतकका आफन्तजनले अझै शव बुझ्न नमानेका उनले बताए। घटनापछि पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुवैलाई बचाउन हरपल प्रयत्न गरेपनि बचाउन नसकेको बताएको हजुरबुबा चिजबहादुरले जानकारी दिए।
छलफलका क्रममा सुत्केरीको पानीको पोको फुटेपछि रगतसँग घुलेर शरीरका अन्य भागमा पुगेकाले दुवै जनालाई बचाउन नसकिएको चिकित्सकको भनाइ उदृत गर्दै उनले उल्लेख गरे।
“चिकित्सकले उपचार पद्धतिअनुरुप नै उपचार गरेको र गल्ती केही पनि नगरेको भन्दै स्वीकार गरे पनि आमा र शिशु दुवैको मृत्यु भएपछि चिकित्सकको लापरवाही भएको अनुमान गरेका हौं”, हजुरबुबा चीजबहादुरले भने, “छानबिनका लागि प्रक्रिया अघि बढाएका छौं, छानबिन भएपछि पुन: एक पटक बसेर छलफल गर्ने योजना बनाएका छौं ।”