गण्डकी । नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा पोखरामा आज आयोजित कार्यक्रममा दूरसञ्चार सम्बद्ध कानूनको प्रभावकारी कार्यान्वयन र सेवाको गुणस्तरीयतामा जोड दिइएको छ ।
दूरसञ्चार सेवा सम्बन्धित कानून र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाबारे सेवा प्रदायक र सरोकारवालाबीच गरिएको छलफलमा वक्ताहरूले बनेका कानूनको प्रभावकारी कार्यान्वयन एवं नियमनसँगै सेवा प्रदायक पनि सेवाको गुणस्तरीयता अभिवृद्धिमा लाग्नुपर्ने बताए।
गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले सूचना प्रविधिमा आएको परिवर्तनसँगै नियामक निकायको भूमिका पनि प्रभावकारी हुनुपर्नेमा जोड दिए। सेवाको सञ्चालन एवं नियमनका लागि बनाइएका कानून पनि आवश्यकता अनुसार संशोधन हुँदै जानुपर्नेमा उनको भनाइ छ ।
सेवा प्रदायकबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक भएको बताउँदै उनले गुणस्तरीय सेवा बढाउनेतर्फ लक्षित हुनुपर्ने बताए। नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्थले दूरसञ्चार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन कानून रहेको बताउँदै त्यसको पालना गरी सेवालाई गुणस्तरीय बनाउन सम्बद्ध सेवा प्रदायक लाग्नुपर्ने बताए।
सेवा प्रदायकहरूले स्वस्थ प्रतिस्पर्धालाई जोड दिनुपर्ने बताउँदै उनले भौगोलिक अवस्था जस्तो भए पनि सञ्चारको महत्व उत्तिकै बराबरी रहेको उल्लेख गरे। नेपाल टेलिकम गण्डकी प्रदेशका उपनिर्देशक प्रक्षित थापाले भौगोलिक विकटताले कतिपय स्थानमा सेवा प्रवाहमा समस्या आएको बताए।
कतिपय स्थानमा बिजुली बत्ती उपलब्ध नहुँदा सोलारका माध्यमबाट मात्रै सेवा प्रभावकारी रुपमा दिन नसकिएको उनले बताए। पोखरा उच्च अदालत बार एशोसिएशनका उपाध्यक्ष गिरधारी सुवेदीले दूरसञ्चार सेवालाई प्रभावकारी बनाउनका लागि एकीकृत कानूनको खाँचो औंल्याए।
उपभोक्ता मञ्च गण्डकी प्रदेशका कोषाध्यक्ष मीना रानाभाटले सेवाको गुणस्तरीयतामा जोड दिनुपर्ने बताउँदै अव्यवस्थित रुपमा राखिएका तारलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
कार्यक्रममा पोखरा इन्टरनेटका विजेश पालिखे, प्रशंसा अर्याललगायतले बोलेका थिए भने सहभागीका तर्फबाट सेवा प्रवाह, कानूनी व्यवस्थालगायतमा जिज्ञाशा व्यक्त गरिएको थियो ।