भक्तपुर । भक्तपुरमा सोमवार सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकूद महासङ्घ विजयी बनेको छ ।
सूर्यविनायक नगरपालिका-४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिवारदेखि आयोजना गरेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको सोमवार सम्पन्न फाइनल खेलमा महासङ्घले लिखु गाउँपालिका-८ ओखलढुङ्गालाई ३-१ को सेटमा पराजित गरेको थियो ।
फाइनलको पहिलो खेलमा २५-२१ का अन्तरले लिखुले अग्रता लिए पनि दोस्रो, तेस्रो र चौथो सेटमा भने लिखुविरुद्ध महासङ्घले २५-२०, २५-१९ र २५-२२ को अन्तरले विजय हासिल गरी नगद पुरस्कार, ट्रफी र मेडल हात पार्दै महासङ्घ च्याम्पियन बनेको हो ।
त्यस्तै, न्यूटन एकेडेमीले आयोजक टीम ॐ सिर्जनशील समाजलाई ३-० को अन्तरले पराजित गर्दै तेस्रो स्थान सुनिश्चित गरेपछि आयोजक टीम समाजले सान्त्वनामै चित्त बुझाउनुपरेको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य किरण थापाले प्रतियोगितामा प्रथम हुने महासङ्घलाई नगद रु ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र, दोस्रो हुने लिखु-६ ओखलढुङ्गालाई नगद पुरस्कार रु २५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र, तेस्रो हुने न्यूटन एकेडेमीलाई रु १५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र सान्त्वना हुने ॐ सिर्जनशील समाजलाई रु १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरे।
त्यस्तै, प्रतियोगिताको फाइनल खेलमा महासङ्घका खेलाडी विष्णु बस्नेतले म्यान अफ दि म्याचको उपाधि पाए भने बेस्ट स्पाइडरमा महासङ्घकै समित श्रेष्ठ, बेष्ट ब्लकरमा महासङ्घकै सन्तोष रानामगर, बेष्ट सेटर महासङ्घकै मनोज घिमिरे, बेष्ट लिब्रोको उपाधि लिखु-८ का सन्दीप थापा र बेष्ट सर्भर न्यूटन एकेडेमीका धिरजकाजी बस्नेतले उपाधि हात पारे।
सो अवसरमा प्रदेशसभा सदस्य थापाले खेलमा दर्शकदीर्घाको आकर्षण र सहभागिता देख्दा यहाँ भलिबल खेलका लागि आवश्यक खेलमैदान निर्माण गर्नुपर्ने आवश्यकता देखिएको बताए।
त्यस अवसरमा जिल्ला खेलकूद विकास समिति भक्तपुरका प्रमुख दीपक थापा, सूर्यविनायक-४ का वडाध्यक्ष लछुराम न्यौपाने, कार्यक्रमका सभापति एवं आयोजक समाजका अध्यक्ष अर्जुन केसीलगायतले भलिबल खेलमैदानको आवश्यकतालाई सङ्घ, प्रदेश र स्थानीय सरकारले पूरा गर्न लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा गएर भलिबल खेलमा उत्कृष्टता हासिल गर्ने खेलाडी धिरजकाजी बस्नेत र विष्णु बस्नेतलाई प्रदेशसभा सदस्य थापाले सम्मान गरे। आयोजक समितिका संयोजक पेशल आचार्यले प्रतियोगितामा आठ जिल्लाका १० समूहको सहभागिता रहेको जानकारी दिए।
प्रतियोगितालाई सहयोग पुर्याउने विभिन्न दाता एवं सहयोगीलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको थियो ।