चितवन । गोहीले आक्रमण गर्दा दुई जना घाइते भएका छन् । जिल्लाको रत्ननगर नगरपालिका-६ राप्ती खोलामा गोहीको आक्रमणमा परेर आज बिहान एक जना र हिजो दिउँसो एक किशोर घाइते भएका हुन् ।
भरतपुर महानगर-२२ बस्ने वर्ष ५६ को शिवलाल बोटेले राप्ती खोलामा माछा मार्ने क्रममा आज बिहान गोहीको आक्रमणमा परेका हुन् ।
माछा मार्ने क्रममा एक्कासि गोहीले आक्रमण गर्दा उनको दायाँ हातको कुहिनो भन्दा तलको भाग चुँडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गम्भीर घाइते भएका बोटेको भरतपुर स्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै सोही खोलामा नुहाउने क्रममा एक किशोरलाई हिजो गोहीले आक्रमण गरेको छ । १९ वर्षीय सुरज बोटे राप्ती खोलामा नुहाउने क्रममा गोहीले खुट्टामा टोक्दा घाइते भएका हुन् ।
घाइते बोटेको भरतपुर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनको सूचना तथा सञ्चार शाखाले जनाएको छ ।