
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगहरु सरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने बताएका छन् ।
कुष्ठरोगका बिरामीलाई समाजमा गरिने व्यवहारलाई जनचेतनामूलक कार्यक्रमसहित परिर्वतन ल्याउन सके बिरामीको रोगसँग लड्न सक्ने क्षमता विकास हुने उनले बताए।
इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) नेपालको शून्य कुष्ठरोग रणनीतिको आज पोखरामा शुभारम्भ गर्दै उनले नेपाललाई कुष्ठरोगमुक्त बनाउने सरकारी उद्देश्य प्राप्तिका लागि आइएनएफको साझेदारी रणनीतिको सफलताको कामना गरे ।
मुख्यमन्त्री पाण्डेले कुष्ठरोगका बिरामीप्रति विभेद गर्न नहुनेमा जोड दिए। उनले भने, “कुष्ठरोग पनि साधारण रोग हो र उपचार सम्भव छ भनेर जनचेतना बढाउनु आवश्यक छ । बिरामीलार्ई डिप्रेशन हुने गरी व्यवहार गर्नुहुँदैन । बिरामीको उच्च मनोबल वृद्धि गर्नका लागि समाजले गर्ने व्यवहार परिर्वतन गर्नु आवश्यक छ ।”
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको म्याग्दी र नवलपरासीमा अन्य जिल्लाका तुलनामा कुष्ठरोगी बढी रहेकाले रोग निवारण र रोगीहरुको सेवाका लागि आइएनएफले सञ्चालन गरेको अस्पतालले ठूलो योगदान गरेको उल्लेख गरे ।
कुष्ठरोग मुक्त अभियानमा प्रदेश सरकारले सहकार्य गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाए । प्रदेश सरकारले १० वर्षमुनि र ६० वर्षमाथिका नागरिकको सरकारी अस्पतालमा नि:शुल्क उपचारको प्रबन्ध गर्ने गरी कार्यक्रम सञ्चालनको तयारी गरेको उनले जानकारी दिए ।
आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोगमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न संस्थाले रणनीतिक योजना तयार गरेको बताए ।
सरकारको अभियानलाई आइएफनले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको अध्यक्ष तिमोथीले बताए।
नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न, उनीहरूलाई पुन:स्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याइ मुलुकलाई राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भएको घोषणा गर्ने स्थितिसम्म ल्याई पुर्याउन आइएफनले योगदान गरेको अध्यक्ष तिमोथीको भनाइ छ ।
उनले भने, “नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्न आइएनएफ नेपाल प्रतिबद्ध छ । सरकारको लक्ष्यलाई योगदान गर्न र कुष्ठरोगमुक्त समाजको परिकल्पनाका लागि रणनीतिक योजना निर्माण गरेका हौं ।”
रणनीतिक योजनामा समुदाय तहमा कुष्ठरोगका विविध पक्षबारे जनचेतना अभिवृद्धि गर्ने कुरालाई विशेष जोड दिइएको छ । त्यसैगरी, रोगका बिरामीको पहिचान गर्न र समाजमा नखुलेका बिरामीलाई स्वास्थ्य संस्थासम्म ल्याइपुर्याउन स्थानीय स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम अघि सारिएको छ ।
कुष्ठरोगलाई यसबाट प्रभावितको समस्याको रुपमा मात्र नलिइकन यो समस्यालाई सबैले साझा रुपमा ग्रहण गर्ने र यसको समाधानको लागि पनि सबैले महत्वपूर्ण भूमिका निर्वाहको रणनीति आइएनएफको रहेको आइएनफएका मेडिकल सर्भिसेज डाइरेक्टर डा अरुणकुमार बुढाले बताए।
कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले आइएनएफले सुरु गरेको कार्यक्रमबाट सरकारको कुष्ठरोग उन्मुलनको नीतिलाई सहयोग पुग्ने बताए।
उनले कुष्ठरोग शून्यताका लागि सबै पक्षले धेरै मिहिनेत गर्नुपर्ने खाँचो औंल्याए। गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले गैर सरकारी संस्थाहरू सरकारको प्रतिस्पर्धी नभई सहयोगी हात मात्र रहेको बताए।
गैरसरकारी क्षेत्रबाट कुष्ठरोगको उपचारमा प्रदान गरिएको सेवा अत्यन्त उत्कृष्ट रहेको उनले बताए। पोखराको हरियोखर्क अस्पताल परिसरमा कुष्ठरोगका बिरामीको उपचारका लागि सञ्चालनमा ल्याइएको ‘आइलीन एण्ड बेट्टी सेन्टर’ भवनको उद्घाटन गरिएको छ ।
हरियोखर्क हस्पतालमा हाल १०० बेडमा कुष्ठरोगीहरुको उपचार हुँदै आएको छ ।
कार्यक्रममा आइएनएफ बोर्डका उपाध्यक्ष राजेन्द्रकुमार अधिकारी, आइएनएफ अष्टे«लियाका प्रमुख कार्यकारी अधिृकत वेन थर्ली, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा प्रसन्न नापित, पोखरा-१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले कुष्ठरोगमुक्त नेपाल बनाउने सरकारी अभियानमा आइएनएफले तयारी गरेको रणनीतिक योजनाले महत्पूर्ण भूमिका खेल्ने बताए।