गोरखा । गोरखामा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गण्डकी गाउँपालिका-६, घौचुरमा बा०१-०२५ च ६२०४ नम्बरको बलेरो जीप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
दुर्घटनामा परी गण्डकी गाउँपालिका-६ निवासी ७८ वर्षीया किरमाया आलेको मृत्यु भएको हो । काठमाडौंबाट घौचुरतर्फ जाँदै गरेको बलेरो जीप कच्ची सडकबाट खस्दा सख्त घाइते भएकी आलेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उजले बताए।
उक्त दुर्घटनामा परी अन्य पाँचजना घाइते भएका थिए । घाइते हुनेमा सोही ठाउँका ७७ वर्षीया कनमाया आले, ७८ वर्षीय धनबहादुर आले, ८१ वर्षीय तीर्थबहादुर आले, ७२ वर्षीय पूर्णबहादुर थापा र ६५ वर्षीया गङ्गामाया थापा छन्।
घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनापछि जीपका चालक ४३ वर्षीय केहरसिं थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए ।
दुर्घटनाको कारण भने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।