काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४-१ गोलअन्तरले पराजित गरेको हो । जावलाखेलको जीतमा एनकोटो मासोआबीले दुई गोल गरे भने राहुल र फोडे फोफानाले समान एक-एक गोल गरे ।
पराजित फ्रेन्ड्सका लागि भने श्यामबाबु क्यापछाकीले एक गोल फर्काए । खेलको २०औं मिनेटमा राहुलले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको छ मिनेटमा एनकोटोले जावलाखेलको अग्रता दोब्बर बनाए ।
त्यस्तै, खेलको ६३औं मिनेटमा उनले पेनाल्टीमार्फ व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको अग्रता तेब्बर बनाए । पेनाल्टी क्षेत्रभित्र एन्जल महर्जनले ह्यान्ड गरेपछि जाउलाखेलले पेनाल्टी पाएको थियो । जसको सदुपयोग एनकोटोले गरे ।
त्यस्तै, खेलको ८० औं मिनेटमा फ्रेन्ड्स क्लबका श्यामबाबुले एक गोल फर्काए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई ४-१ को जीत दिलाए । यस जीतसँगै जावलाखेलको १७ खेलमा ३० अङ्क भएको छ र अङ्क तालिकाको शीर्षस्थानमा उक्लेको छ ।
चर्च ब्वाइजको पनि समान ३० अङ्क नै रहेको छ तर, हेड टु हेडका आधारमा जाउलाखेल शीर्षस्थानमा रहेको हो । जावलाखेलले चर्च ब्वाइजलाई १-० गोलअन्तरले हराएको थियो । पराजित फ्रेन्ड्स १७ खेलमा १९ अङ्कसाथ ११ औं स्थानमा छ ।