जानकी । बाँकेस्थित नेपाल-भारत सीमानाका जमुनाहमा निर्माणाधीन एकीकृत जाँच चौकीको निर्माणको काम अबको डेढ महिनाभित्र पूरा हुने भएको छ ।
यही मे महिनाभित्रमा सम्पन्न गर्ने सम्झौता भए पनि यसको निर्माणको काम भने अबको डेढ महिनाभित्र पूरा हुने भारतीय पक्षले नेपाली पक्षलाई जानकारी गराएको छ । सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत जाँच चौकीको करीब ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए।
“एकीकृत जाँच चौकी निर्माणका लागि जग्गा नेपालले उपलब्ध गराएको हो, यसको निर्माणको जिम्मेवारी भने नेपाल र भारतको सहमतिअनुसार भारतीय पक्षले लिएको छ, लगानी, प्राविधिक पाटो र निर्माण व्यवसायी भारतले नै छनोट गरेको हो, नेपालमा बन्न लागेकाले हामीले निर्माणको अवस्थाबारे जानकारी मात्रै लिने गरेका छौं”, कार्यालय प्रमुख खनालले भने।
उक्त जाँच चौकी निर्माणका लागि एक दशकअघि नै नेपाली पक्षले नेपालतर्फको ९० बिघा जग्गा अधिग्रहण गरी तारबार गरेको थियो । दुवैतर्फको निर्माण कार्य भने अढाइ वर्षअघि मात्रै सुरु भएको हो ।
एकीकृत जाँच चौकीभित्र वेयरहाउस, प्रशासनिक भवन, ब्यारेक भवन, पोर्टर, रेस्ट हाउस, प्रवेशद्वारलगायतका विभिन्न संरचनाको निर्माण कार्य भइरहेको भारतीय पक्षले जनाएको छ । जमुनाह नाकाभन्दा पश्चिमतर्फ नेपालगञ्ज उपमहानगरपालिका-१६, जयसपुरस्थित दशगजाको (भारत र नेपाल) दुवैतर्फ एकीकृत जाँच चौकीको निर्माण काम तीव्ररुपमा भइरहेको छ ।
सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी (आइपिसी) निर्माणको काम अघि बढे पनि २०७७ फागुनदेखि मात्रै निर्माण कार्य अघि बढेको हो । सो परियोजनाको निर्माण सम्पन्न भएमा भन्सार प्रणालीमै आमूल परिवर्तन आउने अपेक्षा गरिएको छ ।