काठमाडौँ । केन्याबाट हवाई मार्ग हुँदै नेपाल भित्र्याइएको लागु औषध कोकिन भारत लैजाने तयारी गरिरहँदा प्रहरीले बरामद गरेको छ ।
एक केजी ८० ग्राम कोकिनसहित अफ्रिकी मुलुक केन्याबाट आएकी एक महिला र नेपालमा कोकिन पिकअप गर्न भारतबाट आएका नागरिकहरू पक्राउ परेका हुन् । बरामद भएको कोकिनको अवैध बजार मूल्य दुई करोड ३३ लाख २८ हजार रुपैयाँ रहेको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।
केन्याबाट आएकी पिलिसिला वान्जा नाम गरेकी ६३ वर्षीया महिलाले लेडिज ब्यागभित्र फल्स बटम बनाएर हवाई मार्गबाट केन्याबाट इथियोपिया र कतारको दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँमा अवतरण गरेकी थिइन् ।
काठमाडौँमा अवतरण गरे पश्चात् ठमेलको एक होटेलमा बसिरहेकी उनलाई प्रहरीले वैशाख पाँच गते पक्राउ गरेको हो । उनको साथबाट एक हजार डलर अमेरिकी नोटसमेत बरामद भएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।
साथै नेपालबाट भारत लैजानको लागि भारतको उत्तर प्रदेशबाट काठमाडौँ आएका वर्ष ४१ का रवीन्द्र कुमार नाम गरेका एक पुरुषसमेत पक्राउ परेका छन् । उनीहरू ठमेलका छुट्टाछुट्टै होटेलबाट पक्राउ परेका हुन् ।
कोका बिरुवाको पातबाट रासायनिक प्रशोधनद्वारा तयार पारिने कोकिनलाई कडा लागु औषधको रूपमा चिनिन्छ । दक्षिण अमेरिकाको मुख्यतया कोलम्बिया, पेरु, बोलिभिया र चिलीको दक्षिणी भेगमा कोकिन उत्पादन हुने गर्दछन् ।
त्यहाँ उत्पादन हुने कोकिन युरोपका विभिन्न देश, चीन, हङकङ, मलेसिया, भारत, थाइल्यान्ड र दुबईजस्ता देशहरूमा खपत हुने गरेको प्रहरीका उच्च अधिकारीहरू बताउँछन् ।
पक्राउ परेका दुवै विदेशी नागरिकहरूलाई काठमाडौँ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको एसपी जोशीले बताए।
लागु औषध (नियन्त्रण) ऐन, २०२३ कोकिनको परिमाणको आधारमा कैद सजाय र जरिवाना तोकेको छ । १०० ग्रामभन्दा बढी कोकिनको ओसारपसार गर्नेहरूलाई १५ वर्षदेखि जन्मकैद र रु पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुन्छ ।