काठमाडौँ । वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा पर्साको बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई हाल कीर्तिपुर बस्ने हिरालाल महतो नुनिया रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनले जनाएको छ ।
उनले जय बहादुर साह तेली समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भनेर रकम ठगेको आरोपमा पक्राउ गरिएको हो । उनले ती व्यक्तिहरूलाई मलेसिया पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी उनीहरूबाट पटक पटक गरी तीन लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भएका थिए ।
आफूहरू ठगीमा परेको भन्दै जयबहादुरसहितका अन्य पीडित व्यक्तिहरूले वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि प्रहरीले हिरालाल महतोलाई सोमबार चोभारबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।