काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका एक पीडितलाई साउदी अरब रियाल देखाई पीडितको साथबाट ५० ग्रामको सुनको ब्रासलेट ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-१० नसिथौंली घर भई काठमाडौं मुलपानी बस्ने ३६ वर्षीय जहरसिंह घिसिङ र ३४ वर्षीय पानीसिंह घिसिङ रहेका छन् ।
पासपोर्ट नभएका कारणले साउदी अरब रियाल साट्न मिलेको छैन तपाईले लगेर साट्नु भन्दै पीडितलाई प्रलोभनमा पारी पीडितको साथबाट सुनको ब्रासलेट लिई फरार भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई काठमाडौं चाबाहिलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुईजनामाथि काठमाडौँ उपत्यकामा भएका अन्य सोहि किसिममा घटनाहरुमा समेत संलग्न हुनसक्ने तर्फ समेत अनुसन्धान भईरहेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
पानसिंह घिसिङ यसअगाडि गत असोज १४ गते ठगी कसुरमा प्रहरी वृत्तमा मुद्दा चलेका व्यक्ति रहेको पनि अनुसन्धानको क्रममा खुलेको छ । दुवैजनालाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।