काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबलमा जाउलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दीमाथि सानदार जीत हात पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिवार च्यासल मैदानमा भएको खेलमा जाउलाखेलले मनाङमाथि ३-० को जीत निकालेको हो । खेलमा जाउलाखेलले चौथो मिनेटमै मसोअबिको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने इन्जुरी टाइममा भयो ।
निर्धारित ९० मिनेटको खेल सकिएपछि थपिएको पाँचौं मिनेटको पहिलो मिनेटमा फोफानाले गोल गरे । अन्तिम मिनेटमा मसोअबिले व्यक्तिगत दोस्रो गोल गरेपछि जाउलाखेलले महत्वपूर्ण तीन अंक हात पार्यो ।
यो जीतसँगै जाउलाखेल ९ खेलबाट १७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै शीर्ष स्थानमा उक्लिने मौका गुमाएको मनाङ १५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।