एजेन्सी । इङ्लिस प्रिमियर लिग फूटबलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ३-१ गोलले पराजित गरेको छ। गएराति भएको खेलमा सिटीको जीतमा एर्लिङ हालाण्डले दुई र जोन स्टोन्सले एक गोल गरे ।
लेस्टर सिटीका केलिची इहानाचोले एक गोल फर्काए । जीतसँगै सिटीले ३० खेलमा ७० अङ्क जोडेको छ । सिटी दोस्रो स्थानमा छ । लेस्टर २५ अङ्कसहित १९औं स्थानमा छ । समान ३० खेलमा ७३ अङ्क रहेको आर्सनल शीर्षस्थानमा कायमै छ ।
इङ्लिस प्रिमियर लिग फूटबलमा हिजो भएको खेलमा टोटनह्याम र चेल्सी पराजित भएका छन् । टोटनह्यामलाई बर्नमाउथले ३-२ गोलले हराएको हो । बर्नमाउथका माटियस भिना, डोमिनिक सोलान्के र डान्गो ओटाराले एक/एक गोल गरे ।
टोटनह्यामका सन ह्युङ मिन र अर्नुट डान्जुमाले एक/एक गोल फर्काए । जीतसँगै बर्नमाउथले ३१ खेलमा ३३ अङ्क जोडेको छ । बर्नमाउथ १४औं स्थानमा छ । पाँचौं स्थानको टोटनह्यामले ३१ खेलमा ५३ अङ्क जोडेको छ ।
अर्को खेलमा चेल्सी पराजित भयो । चेल्सीलाई ब्राइटनले २-१ गोलले हराएको हो । घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो । खेलको १३औं मिनेटमा कोनर गल्लाघेरले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ४२औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ६९औं मिनेटमा जुलिओ एन्सिसोले गोल गर्दै ब्राइटनलाई २-१ गोलको जीत दिलाए ।
जीतसँगै ब्राइटनले २९ खेलमा ४९ अङ्क जोडेको छ । ब्राइटन सातौं स्थानमा रहेको छ । चेल्सी ३१ खेलमा ३९ अङ्क जोडेर ११औं स्थानमा रहेको छ ।
अरु खेलमा उल्भ्सले ब्रेन्टफोर्डलाई र क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई समान २-० गोलले तथा फुलह्यामले एभर्टनलाई ३-१ गोलले हराएको छ ।