काठमाडौं । नेपाली सेनाले ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरहरुको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन साथै सैनिक ईतिहासको जगेर्ना गर्ने उद्देश्यले पदयात्रा सुरु गरेको छ ।
आजदेखि गोरखा दरबारबाट सुरु भएको पदयात्राले २०७ किलोमिटरको दुरी पार गर्दै रुपन्देहीको जितगढीमा गएर सम्पन्न हुनेछ ।
पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका पाँच वटा स्थायी कम्पनीका झण्डासहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजा सहितको टोली सहभागी छन् ।
पदयात्राको दौरान गोरखाबाट सहभागी फौजले तनहुँ जिल्लामा तैनाथ फौजलाई गोरखाको सतीघाटमा, तनहुँ जिल्लामा तैनाथ फौजले पाल्पा जिल्लामा तैनाथ फौजलाई तनहुँको केलादीघाटमा र पाल्पा जिल्लामा तैनाथ फौजले रुपन्देही जिल्लामा तैनाथ फौजलाई पाल्पाको नुवाकोटगढीमा झण्डाहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
गोरखा दरबारबाट शुरु भएको पदयात्रा गोरखा, तनहुँ, स्याङ्गजा, पाल्पा हुँदै बैशाख ०७ गते रुपन्देही, बुटवलस्थित जितगढी पुगेर समापन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सोही दिन नेपाली सेनाद्वारा मर्मत भैरहेको जितगढीको प्रतिमा बुटवल उप-महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
पदयात्रा थालनीको अवसरमा आयोजित कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका प्रमुख तथा उप प्रमुख, गोरखा नगरपालिकाका प्रमुख तथा उप प्रमुख, रथीवृन्द, प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधीहरु, नेपाली सेनाका अधिकृत, जिल्लास्थित सुरक्षा निकाय एवं सरकारी कार्यालयका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, सञ्चारकर्मी लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।