काठमाडौं । ठूलो मूल्यको लागुऔषध कोकिनसहित दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
हवाई मार्गबाट भारत जान लागेकी एक महिलालाई चैत १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङको क्रममा लागुऔषध बरामद भएको थियो । भनल्वामी नाम गरेकी भारतको मिजोरम घर भएकी ४६ वर्षीया ती महिलाले लगेज भित्र चार वटा लेडिज ब्यागमा फल्सबटम बनाइ भारततर्फ लैजान लागेको दुई केजी ८८७ ग्राम कोकिन फेला परेको थियो । बरामद भएको कोकिनको अवैध बजार मूल्य १७ करोड तीन लाख ५९ हजार २०० रहेको बताइएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोली उनलाई पक्राउ गरेर सोधपुछ गर्दा काठमाडौंको ठमेलस्थित एक होटलमा बसेकी भारतको मिजोरमकै २९ वर्षीया ईस्थल ललिम्पुई नाम गरेकी युवतीको साथबाट पाँच केजी कोकिन बरामद भएको हो ।
विमानस्थलमा पक्राउ परेकी महिला चैत २ गते भारतको राजधानी न्यू दिल्लीबाट इथोपिया गएको त्यहाँबाट गिनी पुगेर कोकिनका साथ मोरक्को, दोहा हुँदै चैत १३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको र ठमेलको एक होटलमा बसेको खुलेको छ ।
काठमाडौं अवतरण गरेर एक रात होटलमा बसेर भोलिपल्ट ईन्डियो एयरको उडाबाट भारतको नयाँ दिल्ली जान लागेको अवस्थामा उनी विमानस्थलबाट पक्राउ परेकी हुन् ।
त्यस्तै ठमेलको होटलमा कोकिनसहित पक्राउ परेकी युवती चैत ७ गते दिल्लीबाट इथोपिया पुगेको । त्यहाँबाट बर्लिन गएर कोकिन लिएर मोरक्को, कतार हुँदै चैत १४ गते त्रिभुवन विमानस्थलमा अवतरण गरेर ठमेलको एक होटलमा बसेको खुलेको छ ।
प्रहरीले ती युवतीलाई चैत १४ गते ठमेलको होटलबाट पक्राउ गरेको लागुऔषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले केटिएम दैनिकलाई बताए ।
पक्राउ परेका दुवैलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी जोशीले बताए ।
दक्षिण अमेरिकाको पहाडी र जङ्गल क्षेत्रमा पाइने कोका बिरुवाको पातबाट रासायनिक प्रशोधनद्वार तयार गरिने कोकिन एक कडा लागुऔषध हो । मुख्यतया कोलम्बिया, पेरु, बोलिभिया र चिलीकक्ष दक्षिणी भेगमा कोकिनको अवैध उत्पादन हुने गर्दछ ।
लागु औषध (नियन्त्रण) ऐन, २०३३ ले कोकिनको परिमाण अनुसार सजाय तोकेको छ । अहिले बरामद भएको कोकिनको परिमाणअनुसार पक्राउ परेका महिलाहरूलाई १५ वर्षदेखि जन्मकैदसम्म सजाय र रु पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।