काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेना बीच तीनदिने ‘वाइल्याटर ल्याण्ड फोर्स टक’ सम्पन्न भएको छ । चौथो संस्करणको उक्त छलफल १३-१५ चैतमा काठमाडौंमा सम्पन्न भएको सैनिक निर्देशनालयले जनाएको छ ।
उक्त बैठकमा अमेरिकी सेनाको तर्फबाट प्यासिफिक कमाण्डका डेप्युटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मित र नेपाली सेनाको तर्फबाट उपरथी अशोकराज सिग्देलले नेतृत्व गरेको नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त छलफलमा मानवीय सहायता तथा विपद् उद्धार, शान्ति कार्य संचालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा पूर्ववत सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको बताइएको छ ।
छलफलमा अमेरिकी टोलीमा २२ जनाको सहभागिता थियो भने नेपाली टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिहरु सहित १४ जना सहभागी हुनुहुन्थ्यो ।
जङ्गी अड्डामा सम्पन्न उक्त छलफलमा सहभागी हुन आएका अमेरिकी सेनाको प्रतिनिधि मण्डलका प्रमुख स्मिथ ले प्रधान सेनापति र रक्षा सचिवसँग भेटघाट समेत गरेका छन् ।
उक्त छलफलले नेपाल-अमेरिकाबीच रहँदै आएको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । यस किसिमको द्विपक्षीय संवादको अर्को संस्करण मार्च २०२४ मा अमेरिकामा आयोजना हुनेछ ।