कैलाली । मनाङ मर्स्याङ्दी क्लब धनगढीमा जारी छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज धनगढीमा भएको खेलमा बागमती क्लबलाई २-१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङलाई जीत दिलाउन तिमोथे कोडु र साइजमोलले एक/एक गोल गरे । यता, बागमतीका लागि सृजन गौतमले एक गोल फर्काए ।
खेलको ३७ औँ मिनेटमा तिमोथेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए । बागमतीले खेलको ४१औँ मिनेटमा बराबरी गोल फर्कायो । बागमतीका लागि सृजन गौतमले बराबरी गोल फर्काए । पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल गर्यो ।
मनाङका लागि खेलको ६६औँ मिनेटमा साइजमोलले गोल गर्दै टीमलाई २-१ गोलको जीत दिलाए । जीतसँगै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ । अब मनाङले विदेशी टोली एभिनिर फूटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताअन्तर्गत मंगलवार आयोजक सुदूरपश्चिम-११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । सर्वाधिक धनराशिको प्रतियोगिताका विजेताले रु २१ लाख र उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् ।
सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन छ, विदेशी टोली दुई र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।