काठमाडौँ । सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौं संस्करणको प्रतियोगिता मंगलवारदेखि सुरु हुँदैछ ।
रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ७२ होलको हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक ‘प्रोफेसनल गल्फर एसोसिएसन’का अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, रामे मगर, सुवास तामाङ, सद्भाव आचार्यलगायत खेलाडी सहभागी हुने बताइएको छ ।
नेपालका नम्बर एक खेलाडी शुक्रबहादुर राईले भने प्रतियोगितामा सहभगिता जनाउने छैनन् । उनी हाल भारतमा छन् ।प्रतियोगिताको विजेताले रु एक लाख, उपविजेताले रु ६५ हजार र तेस्रोले रु ४६ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, चौथोले रु ३८ हजार, पाँचौंले रु ३४ हजार, छैटौंले रु ३० हजार, सातौंले रु २७ हजार, आठौंले रु २४ हजार, नवौंले रु २२ हजार तथा दशौं स्थान हासिल गर्ने खेलाडीले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुनेछ ।