काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कारको आरोपबारे काठमाडौँ जिल्ला अदालतले आज अन्तिम पेसी तोकेको छ ।
जिल्ला अदालत काठमाडौंले लामिछानेको मुद्दामा सोमबारदेखि अन्तिम सुनुवाइ सुरु गर्न लागेको हो । ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ ।
शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनुनपर्ने गरी फैसला गरेको थियो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा अन्तिमतिर आइसकेकाले मुद्दाको टुंगो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय हुने भएकाले अन्तरिम राहत दिनुनपर्ने आदेश गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।
त्यस्तै फागुन १५ गतेको सर्वोच्च अदालतको संयुक्त इजलासले क्रिकेटर सन्दीप लामिछानेलाई विदेशमा गएर प्रतियोगितामा भाग लिन कुनै अवरोध नगर्नु भन्ने आदेश दियो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले उच्च अदालतको सर्तसहितको धरौटीमा छाड्ने आदेशको प्रकरण २१ को ‘क’ बदर गर्दै अन्य विषय सदर गरेको थियो ।