सुदूरपश्चिम । धनगढीमा आज सुरु भएको ‘छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप-२०७९ फूटबल प्रतियोगिता’ अन्तर्गतको पहिलो खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुआत गरेको छ ।
बागमतीले विभागीय टोली एपिएफलाई १-० गोलले पराजित गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्दै खेल क्षेत्रको विकासमा सरकारले ध्यान दिने बताए । चैत १८ गतेसम्म हुने प्रतियोगितामा आयोजक सुदूरपश्चिम-११ स्पोट्स क्लबसहित १० टीमले प्रतिस्पर्धा गर्दैछन् ।
समारोहमा एक सयपटक रक्तदान गरेर उत्कृष्ट सामाजिक काम गरेबापत धनगढीका पत्रकार दीपकप्रसाद उपाध्याय र कञ्चनपुर पुनर्वासका फूटबल खेलाडी फिलिप तामाङलाई सम्मान गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री शाहलाई आयोजकले प्रतियोगितालाई दीर्घकालीनरूपमा सञ्चालन गर्न बजेट व्यवस्थापन मागसहितको ज्ञापनपत्र पेश गरेको थियो ।
प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेतालाई रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगिताका सबै प्रतिस्पर्धामा ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजारका दरले पुरस्कार दिइने जनाइएको छ ।
धनगढी रङ्गशालमा विसं २०७३ मा खप्तड गोल्डकपको पहिलो संस्करण भएको थियो ।