चितवन । सामान्यतया: ७५ वर्षमाथिका वृद्धवृद्धाको मुटुको शल्यक्रिया गर्न धेरै चिकित्सक हच्किन्छन् । परिवारले पनि त्यति धेरै वृद्धावस्थामा मुटुको शल्यक्रिया गर्न महत्व दिँदैनन् तर, चितवनका एक चिकित्सक भने वृद्धवृद्धाको मुटुको जटिल शल्यक्रिया गर्दै आएका छन्।
चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मी आफूले गरेका शल्यक्रियामध्ये ३० प्रतिशत ७५ वर्षमाथिका रहेको बताउँछन्। एक दिनको शिशुदेखि ९५ वर्षका वृद्धको समेत आफूले मुटुको शल्यक्रिया गरेको उनको भनाइ छ । सन् २००२ देखि १० वर्ष काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्रमा काम गरेका डा. रेग्मी विगत ११ वर्षदेखि चितवन मेडिकल कलेजमा काम गर्दै आएका छन्।
मेडिकल कलेजमा विभिन्न विभागसमेत रहेकाले वृद्धवृद्धामा देखिने अन्य समस्याको उपचार गरेर मुटुको शल्यक्रिया गर्ने गरेको उनको भनाइ छ । कतिपयको मुटुको शल्यक्रियापछि प्रोस्टेटलगायत अन्य रोगको शल्यक्रिया गर्ने गरेको डा. रेग्मी बताउँछन् । चितवन आएर मात्रै आफ्नो नेतृत्वमा मुटुका पाँच हजार चार सय ७१ जटिल शल्यक्रिया गरेको बताउँदै उनले यीमध्ये ३० प्रतिशत ७५ वर्षमाथिका वृद्धवृद्धा रहेका बताए।
उनका अनुसार कोरोनरी एन्जियोग्राम तीन हजार ७४, कोरोनरी एन्जियोप्लास्टी एक हजार नौ सय ३३, पेसमेकर दुई सय ४७, पिटिएमसिन (मुटुको भल्व सानो भएको) दुई सय आठ, बिएभी दुई र बिपिभि सात वटा भएका छन् । यसबाहेक मुटुमा जमेको पानी तान्ने, अस्थायी ब्याट्री राख्नेलगायत साना शल्यक्रिया भएको डा. रेग्मीले जानकारी दिए ।
उनले भने, “एक दिनको बच्चादेखि ९५ वर्षको वृद्धसम्मको शल्यक्रिया गरेको छु”, यस अस्पतालमा मुटुरोग विभागमा तीन जना विशेषज्ञ चिकित्सक, दुई जना डिएम विद्यार्थी, पाँच जना फेलोसिप विद्यार्थी रहेका छन् । रेग्मीले नचिरिकन शल्यक्रियासमेत गरिने भएकाले राजधानी काठमाडौँबाट बिरामी आउने गरेको बताए। सबै चिकित्सकले पाको उमेरकाको मुटुको शल्यक्रिया गर्न नचाहने भएकाले त्यस्ता बिरामी डा. रेग्मीकोमा धेरै आउने गरेको उनको विभागमा कार्यरत् अमृत काफ्लेले बताए।
राजधानी काठमाडौँमा रहेका निजी तथा सरकारी मुटु अस्पताल सरहको उपकरण, प्रविधि र जनशक्ति जिल्लामा नै रहेको डा. रेग्मीको दाबी छ । उनले थपे, “हामी उपकरण, प्रविधि र जनशक्तिमा कमजोर छैनौं ।” अस्पतालमा अत्याधुनिक उपकरणसहितको क्याथ ल्याब रहेको छ । नेपाल सरकारको विपन्न नागरिक औषद्योपचार कोषमार्फत उपलब्ध एक लाख बराबरको छूटसमेत यस अस्पतालमा पाइन्छ ।
हिंड्दा छाती दुख्ने, छाती भारी हुने, हिंड्दा श्वास हुनेजस्ता लक्षण देखिएमा मुटुरोग लागेको हुनसक्ने भन्दै डा. रेग्मीले यस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउन सुझाव दिए । मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले काठमाडौँसहित देशैभरबाट मुटुको उपचारका लागि बिरामी आउने गरेका बताए। डा. रेग्मी मुटुको शल्यक्रिया धेरै गर्ने चिकित्सकमा परिचित भएको भन्दै उनले यसअघि उपचार पाएकाको सुझावकै कारण धेरै बिरामी आउने गरेका बताए।