गुल्मी । गुल्मीमा पछिल्लो समय मन्दिर र सहकारीमा चोरीका घटना बढ्न थालेका छन् । एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको थियो ।
चन्द्रकोट गाउँपालिका-४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको रु तीन लाख ५० हजारका साथै, सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गिरीबहादुर रोकाले बताए। त्यस्तै, सोही गाउँपालिका-७ रुपाकोटको साना किसान कृषि सहकारी संस्थाबाट रु पाँच लाख भन्दाबढी रकम चोरी भएको थियो ।
गत चार दिनअघि राति च्यानल गेटको साँचो तोडेर रकम चोरी भएपछि अनुसन्धान अगाडि बढाइएको मजुवा प्रहरी चौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक राजु थापाले बताए। यसैगरी, रेसुङ्गा नगरपालिका-७का विभिन्न मन्दिरमा पनि चोरी भएको थियो । फागुन पहिलो हप्ता सिस्नेहार शिवालय मन्दिरमा काँशको घन्टी, तामाका गाग्री तथा कलश, त्रिशूल, जलधारी, काँचको कचौरा, शङ्ख र भेटी चोरी भएको त्यहाँका वडाध्यक्ष रामजी पन्थीले जानकारी दिए।
त्यस्तै, वडा नं. ७ कै सिस्नेहार कुलायन मन्दिरबाट घण्टी, तामाको बेला, चोरी भएको थियो भने नेटाको राम मन्दिरबाट घन्टी, शङ्ख, तामाको थालीलगायत सामग्री चोरी भएको वडाध्यक्ष पन्थीले बताए। उनका अनुसार स्थानीय पुनाराम पाण्डेयका गाग्री, ताउला र थाल चोरी भएका थिए । स्थानीय प्रकाश मरासिनी, देवीराम पन्थी र जीवन पन्थीका दाउरासमेत चोरी भएको जानकारी आएको थियो । रातिको समयमा चोरीसँगै गाउँका घरमा ढोका र चेनगेटमा हान्ने गर्न थालेपछि स्थानीयवासी आतङ्कित भएको वडा नं. ७ निवासी शालिकराम पन्थीले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले मन्दिर तथा सहकारीमा भएका चोरीका विषयमा अनुसन्धान भइरहेको बताए। उनले चन्द्रकोट गाउँपालिकामा सहकारीको चोरीका विषयमा स्थानीय चौकी र जिल्लाबाट गएको अनुसन्धान अधिकृतको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए।