चितवन । आमाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-११ गणेशस्थानका ४० वर्षीय पुरन घले रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले ७८ वर्षीया आमा मीनाकुमारी घलेलाई मादक पदार्थ सेवन गरी दाउराले टाउकामा प्रहार गरी हत्या गरेका कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
उनका अनुसार आमा-छोराबीच विवाद हुँदा उनले बुधबार राति ९:२५ बजे दाउराले प्रहार गर्दा आमाको मृत्यु भएको हो । छोरा पुरनलाई जिल्ला प्रहरी कार्यालय चितवनले आज दिउँसो घर नजिकैको चौरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।