दमौली । आमालाई कर्तव्य गरी मारेको अभियोगमा तनहुँमा छोराबुहारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका-३ शेराका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीया सुशीला मजाकोटी रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ८४ वर्षीया माया सार्कीको हत्या गरेको अभियोगमा छोराबुहारीलाई आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । आज बिहान ५ बजे माया सार्की मृतावस्थामा फेला परेकी थिइन् ।
घर नजिकैको गाई गोठमा आगो लगाई गोठ पूर्ण रुपमा जली गाईसमेत मृतावस्थामा रहेको भनी इलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँ हुँदै जिल्ला प्रहरी कार्यालयमा खबर आएको थियो । “घटनास्थल तथा लासजाँच मुचुल्का गरी प्रारम्भिक अनुसन्धान गर्दा मायालाई निजकै छोराबुहारीले कर्तव्य गरी मारेको खुल्न आएकाले पक्राउ गरी अनुसन्धान थालिएको छ”, खाँणले भने ।