काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ परेका छन् ।
प्रहरीले दिएको जानकारीअनुसार उनीहरु बाँके, कैलाली र बाराका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । बाँके, नेपालगंज उपमहानगरपालिका-१ वाटर पार्कबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५० ग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकम(पश्चिम) सानोभेरी नगरपालिका-१० बस्ने २८ वर्षीय तिलक डाँगी, सोही नगरपालिका-५ बस्ने बिनोद कुमार गौतम र ३३ वर्षीय सोनिराम केसी रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-६ बड्याहाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १२० मिलिग्रामसहित गोदावरी नगरपालिका-६ बस्ने २५ वर्षीय गोपाल चौधरीसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, कैलाली, टीकापुर नगरपालिका-१ साथी अस्पताल चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६३० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-२ डाँडा बस्ने १९ वर्षीय सागर काफ्ले र लम्की चुहा नगरपालिका-१ पूर्व लम्की बस्ने १९ वर्षीय लोकेश शाही रहेका छन् ।
इलाका प्रहरी कार्यालय टीकारपुरबाट खटिएको प्रहरीले प्रदेश ३-०२ ००६ प ६४१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो । यसैगरी, कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागुऔषध ब्राउनसुगर ५०० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-७ बस्ने १८ वर्षीय किशोर र गोदावरी नगरपालिका-५ बस्ने १८ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले सु.प.प्र.१-१०प ४३९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी उनीहरूलाई पक्राउ गरको हो । यस्तै, धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागुऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-६ बस्ने २० वर्षीय रामभजन राना र २४ वर्षीय प्रकाश रानालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले प्रदेश ०३०२-००१ प ११४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको ।
यसैगरी, कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर चोकबाट अवैध लागुऔषध ब्राउनुसुगर ७ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय किरण जोशी र सोही ठाउँ बस्ने २२ वर्षीय रविन चौधरी रहेका छन् । सु.प.प्र.०१००९ प २४०१ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनुसुगरसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
बारा, निजगढ नगरपालिका-११ पूर्व टोलबाट अवैध लागुऔषध गाँजा करिब २ किलोसहित सोही नगरपालिका-१२ बुङ्जोर बस्ने २३ वर्षीय विजय गोलेलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरिएको जनाएको छ ।