काठमाडौँ । एक समूहले पैसाका लागि अपहरणमा परेको नाटक मञ्चन गरेको तथ्य फेला परेको छ ।
यसरी अपहरणमा परेको भनी नाटक गर्ने छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-१३ बस्ने ४७ वर्षका विदुर बस्नेत, चितवनको भण्डारा घर भई हाल नैकाप बस्ने दिलीप विक, सर्लाही घर भई बालाजु बस्ने भोला महतो, काभ्रेका जगतबहादुर भोलान र कान्छामाया जिम्बा तथा धादिङका आशमान लामा रहेका छन् ।
उनीहरू सबै चिनजानका मान्छे रहेको पाइएको छ । उनीहरूमध्ये विदुर बस्नेतले सुरुमा जगतबहादुरसँग पैसा सापटी लिएको तर, लामो समयसम्म नतिरेको र सोही कारण बस्नेतको परिवारबाट पैसा असुल गर्न अपहरणको नाटक गरेको फेला परेको राठौरले जानकारी दिए । उक्त नाटक तयार पारी उनीहरू काठमाडौँको चन्द्रागिरि-१३ पुरानो नैकापस्थित कङ्काली पिस ब्याम्बो रिसोर्टमा बसेका थिए । त्यहाँबाट बस्नेतको परिवारमा अपहरण परेको र पैसा दिए छुटाइदिने भनेर फोन गयो ।
त्यसपछि परिवार सूचना लिएर प्रहरीमा पुग्यो । अनि महाशाखाको टोली आवश्यक रणनीति बनाएर कलङ्कीमा पैसा दिने सहमति बन्यो । त्यही बेला पैसा लिन आएका जगतबहादुर भोलानलाई नियन्त्रणमा लिइएको थियो । उनको बयानका आधारमा उनीहरू नैकापमा रक्सी खाएर बसेको पत्ता लागेपछि अन्य पाँचलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताए। उनीहरूलाई थप अनुसन्धानका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको कार्यालयले जनाएको छ ।