महेन्द्रनगर । मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्रले सहिदहरूको सपना पूरा गर्ने कार्यमा लाग्न सांसदहरूलाई अनुरोध गरेका छन् ।
आज मधेस प्रदेशसभाको पाँचौँ स्थापना दिवस समारोहमा प्रदेश प्रमुख मिश्रले मधेसी सहिदको सपनालाई मनन गरी अगाडि बढ्न सांसदसँग आग्रह गरे । ज्यानको आहुति दिने सहिदको विचारलाई ध्यानमा राखी प्रदेशको विकासमा ध्यान दिनसमेत आग्रह गर्दै भने, “मधेस प्रदेशमा सुशासन र सुलभ सेवाका लागि प्रदेशसभाले भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।”
समारोहमा सभामुख रामचन्द्र मण्डलले मधेस प्रदेशसभाले पछिल्लो पाँच वर्षमा उल्लेख्य काम गरेको बताए । कम स्रोत साधनका बाबजुद जनअपेक्षित काम गरेको उनको भनाइ छ । सभामुख मण्डलले प्रदेशसभाको आफ्नै भवनको आवश्यकता रहेको पनि बताए ।
सभामुख मण्डलले प्रदेशसभालाई जीवनोपयोगी बनाउनुपर्ने भन्दै यसका लागि कडा मेहनत गर्न पनि सांसदसँग अनुरोध गरे । उनले प्रदेशसभाको वार्षिकोत्सवमा धेरै सांसद अनुपस्थित भएकामा दुःखसमेत व्यक्त गरे । उनले सङ्घीयता खर्चिलो व्यवस्था रहेको भनेर टिप्पणी हुन थालेकोप्रति असन्तुष्टि जनाए ।
वार्षिकोत्सवका अवसरमा भएका विभिन्न कार्यक्रम तथा प्रतियोगितामा सहभागी सांसद तथा कर्मचारीलाई सम्मान गरिएको थियो । विसं २०७४ माघ २१ गते पहिलो प्रदेशसभा बैठक बसेको थियो ।
सोही अवसरमा पत्येक वर्ष माघ २१ गते प्रदेशसभा सचिवालयले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेको छ । मधेस प्रदेशसभामा कुल एक सय सात सांसद छन् । तर, वार्षिकोत्सवमा अधिकांश सांसद अनुपस्थित थिए ।