
जापानी नागरिकहरूका तर्फबाट नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्य सम्बन्धी उपकरणहरू हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज बुधवार कीर्तिपुर आँखा अस्पतालमा आयोजित एक कार्यक्रममा उक्त सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।
रेटिना रोगको उपचारसँग सम्बन्धित करिब १ करोड ८५ लाख नेपाली रुपैयाँ बराबरका स्वास्थ्य सामाग्रीहरू जापान सरकारको (ग्रान्ट फर ग्रासरुट पोजेक्ट-जीजीपी) कार्यक्रम अन्तरगत अनुदानमा प्रदान गरिएको हो ।
नेपाल नेत्रज्योति संघद्वारा बि.स २०७२ सालमा आँखा उपचार केन्द्रका रूपमा स्थापना भएको कीर्तिपुर आँखा अस्पताललाई बि.स २०७४ सालमा आँखा अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो । स्थापनाकाल देखि नै अस्पतालले आम नागरिकहरूलाई सर्वसुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
यस अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक स्वास्थ्य उपकरणहरू प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा बि.स २०७७ साल कार्तिक १९ नेपाली स्थित जापानी राजदूतावास र नेपाल नेत्रज्योति संघका बिचमा हस्ताक्षर भएको थियो ।
सन् २०२२ मा अस्पतालले २३ हजार ५४० जनालाई आँखा उपचार सेवा प्रवाह गरेको थियो भने हाल सम्म अस्पतालबाट करिब ७ हजारभन्दा बढी व्यक्तिको आँखाको शल्यक्रिया भइसकेको छ जसमध्येमा करिब ३ हजार जनाको शल्यक्रिया निःशुल्क भएको थियो ।
अस्पतालले हाल काठमाडौँ र ललितपुरमा गरी जम्मा ४ वटा आँखा उपचार केन्द्रहरू समेत सञ्चालन गरिरहेको छ । काठमाडौँ शंखरापुर नगरपालिकामा साँखु आँखा उपचार केन्द्र, दक्षिणकाली नगरपालिकामा दक्षिणकाली आँखा उपचार केन्द्र र चन्द्रागिरि नगरपालिकामा चन्द्रागिरि आँखा उपचार केन्द्र रहेका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकामा लुभु आँखा उपचार केन्द्र सञ्चालनमा छ ।
हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरू मार्फत नागरिकहरूलाई सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको जनाएको छ ।
संघले आर्थिक अभावका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रूपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरूसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखा मुनी नेपाली नागरिकहरूले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेको उक्त कार्यक्रममा जानकारी दिइयो ।