माघ १ गते आइतबार पोखरामा दुर्घटना भएको यती एयरको विमानमा सवार ७२ जनामध्ये ७१ जनाको शव भेटिएको छ ।
सेती नदी खोँचमा दुर्घटनामा परेको उक्त विमानमा सवारमध्ये एकजनाको शव नभेटिएको हुनाले नेपाली सेनाले बिहीबार बिहानदेखि खोजीकार्य जारी राख्ने जनाएको छ ।
नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विमानमा रहेका १५ विदेशी नागरिक सहित ७२ जनामध्ये ७१ जनाको शव मंगलबार बेलुकासम्म फेला परेको छ ।
बुधबार दिनभर खोजी कार्य जारी राखेतापनि थप एक बेपत्ता भेट्न सकिएको छैन । त्यसैले सेनाले खोजीकार्यलाई बिहीबार बिहानदेखि निरन्तरता दिने जनाएको हो ।
दुर्घटनामा परेकामध्ये पहिचान नभएका, विदेशी नागरिक र पोखराभन्दा बाहिर आफन्त भएकाहरूलाई मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
मंगलबार बेलुकासम्म ४८ वटा शव पोखराबाट काठमाडौं ल्याइएको सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले केटिएम दैनिकलाई बताए । शवलाई अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ ।