नाबालिग बलात्कारको आरोपमा पुर्पक्षमा रहेका सन्दीप लामिछानेको समर्थनमा क्रिकेटरहरू बोल्न थालेका छन् । उनीहरूले आफ्नो सामाजिक सञ्जाल मार्फत सन्दीपलाई न्याय हुनुपर्ने कुरामा जोड दिएका हुन् ।
केन्द्रीय कारागारमा रहेका उनी डिप्रेसनमा रहेको खबर मिडिया मार्फत सार्वजनिक भएपछि क्रिकेटरहरूले सन्दीपको पक्षमा बोल्न थालेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय क्रिकेट टिमको व्यवस्थापक विनोद दासले इन्टाग्राम स्टोरीमा सन्दीपको पीडा आफूले महसुस गरेको बताएका छन् । उनले लेखेका छन्, ‘हे भगवान्,हामीले एउटा रत्न गुमाउँदैछौं म मेरो पीडा पनि बाँड्न पनि सक्दिन कृपया उसलाई बचाउनुहोस् ।’
यस्तै महिला टिमको क्याप्टेन रुबिना क्षेत्रीले पनि सन्दीपलाई न्याय गर्नुस् भन्दै भगवानलाई पुकारेको छिन् । उनले लेखेको छिन्, ‘तपाईँ हाम्रो मणि हुनुहुन्छ प्रिय भगवान् कृपया सन्दीपलाई दया गर्नुहोस् र उहाँलाई बलियोसँग लड्न बल दिनुहोस्, म सदैव सन्दीपको साथमा छु ।
यस्तै राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले पनि पूर्व कप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् । उनीहरूले आज बिहान फेसबुकमा स्ट्याटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन् ।
नाबालिगकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौँले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ ।
उनलाई हाल डिप्रेसनको समस्या देखिएको समाचारहरू सार्वजनिक भएका बेला क्रिकेटरहरूले ह्यास ट्याग प्रयोग गर्दै ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखिरहेका छन् ।