धरानमा कात्तिक ३ गते महिलाहरूको समूहले कुटपिट गरेर घाइते भएकी एक महिलाको महिना दिनपछि मृत्यु भएको घटनाको मुख्य आरोपित सहित तीन जनालाई पुर्पक्षको लागि थुनामा राख्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ ।
न्यायाधिश पुण्यप्रसाद सापकोटाको इजलाशले उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश गरेको हो भने एकजनालाई धरौटीमा रिहा गर्ने निर्णय गरेको छ ।
अदालतले हिजो (बुधबार) दिएको आदेशमा अर्का आरोपी रत्ना सुब्बालाई भने १ लाख धरौटी लिएर छोड्न भनिएको छ । सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले अदालतको आदेश वमोजिम ३ जनालाई कोभिड परीक्षणको रिपोर्ट आएपछि आज झुम्का कारागारमा पठाउने तयारी भइरहेको केटिएम दैनिकलाई बताए ।
धनकुटा घर भई केही वर्षदेखि धरान-१३ मा डेरी गरी बस्ने ४२ वर्षीया उषा राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंसिर १३ गते मंगलबार दिउँसो निधन भएको थियो । कपडा सिलाई कटिङ गर्दै दुई छोरीहरू पाल्दै गरेकी महिलामाथि कात्तिक ३ गते जनजागरण आमा समूहका सदस्यले निर्घात रूपमा कुटपिट गरेका थिए ।
यो घटनामा आरोपित अझै ३ जना भने फरार छन् । फरार रहेकाहरुमा निरकुमारी गुरुङ, सृर्जना राई र मिना राई रहेका छन् । उनीहरुमध्ये जाहेरीमा उल्लेख गरिएकी मिना राई को हुन् भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आफ्ना श्रीमान् गोविन राईसँग नजिकिएको आरोपमा केही महिलाहरू सहित पुगेका उर्मिला राईले जथाभाबी कुटपिट गरेपछि उषा गम्भीर घाइते भएकी थिइन् । कुटपिट भएको भोलिपल्ट उनले छाती दुख्यो भन्दै रोई कराइ गरेपछि उपचारको लागि अस्पताल लगिएको थियो ।
मृतक महिलामाथि कुटपिट हुँदा छुट्टाउन गरेका प्रहरीमाथि ती महिलाहरू जाइलागेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा केही महिलाहरूलाई नियन्त्रणमा लिएको थियो ।
अस्पतालमा उपचार गराउँदा केही निको भएपछि कुटपिटमा संलग्न समूह र घाइते महिलाबिच मिलापत्र भएको बताउँछन् धरान उपमहानगर-१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले । काफ्लेले भने, ‘आमा समूहले उपचारमा लागेको सम्पूर्ण रकम बेहोर्ने र क्षतिपूर्तिबापत रु ३० हजार रुपैयाँ दिने सहमतिमा इलाका प्रहरी कार्यालय धरानमा मिलापत्र हो ।’
स्वास्थ्य अवस्था बिग्रिएपछि राईलाई मङ्सिर ७ गते पुनः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।
श्रीमानको निधनपछि सुरु भएको थियो झगडा
मृतक राईका श्रीमानको केही वर्षअगाडि निधन भइसकेको छ । राई परिवारको आर्थिक अवस्था कमजोर भएपछि विराटनगर अस्पतालमा रहेको मृतक श्रीमानको शव निकाल्नको लागि त्यहाँका गोविन राई नाम गरेका व्यक्तिले आर्थिक सहयोग गरेका थिए । राई परिवार तीनै व्यक्तिको जग्गामा टहरा बनाएर बस्दै आएको थियो ।
स्थानीय बासिन्दाको भनाई अनुसार गोविन राईको घरपरिवारका सदस्यबाटै बाटै मृतक उषा राई र गोविन राईको बारेमा चाहिने नचाहिने कुरा बाहिरिन थालेको थियो । एक-कान दुई कान हुँदै यी कुराहरू समाजमा फैलियो ।
घरमा किचलो भएपछि गोविन राईले मृतक उषाको परिवार बस्दै आएको आफ्नो जग्गा बेचे । त्यसपछि घरबार विहीन भएको उषाको परिवार त्यहीँ नजिकै रहेको कटुवाल थर भएको एक व्यक्तिकोमा डेरामा बस्न थालेका थिए ।
कुटपिट हुनुभन्दा दुई दिन अगाडि गोविन राईको परिवार र मृतकबिच जनप्रतिनिधिको रोहवरमा अव उप्रान्त दुई परिवार नभेट्ने सहमति भएको थियो । स्थानीयबासिका अनुसार गोविन्द राईले मानवीय नाताले श्रीमानको शव उठाउन मात्र सहयोग गरेका हुन् ।