धरानमा कात्तिक ३ गते कुटपिटमा आमा समूहको संलग्नता नरहेको बताइएको छ । जनजागृति आमा समूहले हिजो धरानमा पत्रकार सम्मेलन गर्दै कात्तिक ३ गते कुटपिटमा आफ्नो संस्थाको नाम जोडिएकोमा आपत्ति जनाउँदै यस घटनामा संस्थागत रूपमा सो समूह संलग्न नरहेको स्पष्ट पारेको हो ।
धनकुटा घर भई केही वर्षदेखि धरान-१३ मा डेरी गरी बस्ने ४२ वर्षीया उषा राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मङ्गलवार दिउँसो निधन भएको थियो । मृतक महिलालाई कात्तिक ३ गते केही महिलाहरूले निर्घात रूपमा कुटपिट गरेका थिए ।
केटिएम दैनिक लगायत केही सञ्चारमाध्यममा आमा समूहको कुटपिटबाट गम्भीर घाइते भएकी राईको उपचारको क्रममा निधन भएको भन्दै समाचार प्रकाशित गरेपछि उक्त समूहले हिजो आकस्मिक पत्रकार सम्मेलन गर्दै उक्त घटनामा आमा समूहको संलग्नता नरहेको जनाएको छ ।
आमा समूहको अध्यक्ष निर्मला तिम्सिना र सचिव सर्मिष्टा राईले विज्ञप्ति जारी गर्दै, उक्त घटनामा संलग्न कोही व्यक्ति संस्थागत नभएर व्यक्तिगत रूपमा संलग्न भएको र ती व्यक्तिले गरेको अपराधप्रति यो संस्था कुनै पनि किसिमको जिम्मेवार नरहेको स्पष्ट पारेका छन् ।
मृतकका आफन्तहरू भने कुटपिटमा आमा समूहको संलग्नता रहेको भन्दै किटानी जाहेरी समेत दिएका छन् । मृतकका छोरी, छरछिमेक र प्रत्यक्षदर्शीहरुले पनि कुटपिटमा आमा समूहका महिलाहरू पनि आएर सघाएको बताउँदै आएका छन् ।
आफ्ना श्रीमान् गोविन राईसँग नजिकिएको आरोपमा केही महिलाहरू सहित पुगेका उर्मिला राईले जथाभाबी कुटपिट गरेपछि उषा गम्भीर घाइते भएकी थिइन् । कुटपिट भएको भोलिपल्ट उनले छाती दुख्यो भन्दै रोई कराइ गरेपछि उपचारको लागि अस्पताल लगिएको थियो ।
मृतक महिलामाथि कुटपिट हुँदा छुट्टाउन गरेका प्रहरीमाथि ती महिलाहरू जाइलागेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा केही महिलाहरूलाई नियन्त्रणमा लिएको थियो ।
अस्पतालमा उपचार गराउँदा केही निको भएपछि कुटपिटमा संलग्न समूह र घाइते महिलाबिच मिलापत्र भएको बताउँछन् धरान उपमहानगर-१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले । काफ्लेले भने, ‘आमा समूहले उपचारमा लागेको सम्पूर्ण रकम बेहोर्ने र क्षतिपूर्तिबापत रु ३० हजार रुपैयाँ दिने सहमतिमा इलाका प्रहरी कार्यालय धरानमा मिलापत्र हो ।’
स्वास्थ्य अवस्था बिग्रिएपछि राईलाई मङ्सिर ७ गते पुनः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।
आमा समूहले दोषीलाई कारबाही गर्न र पीडित (मृतक) उषा राईलाई न्याय दिलाउन पनि सम्बन्धित निकायसँग माग गरेको छ ।
संस्थाले महिला हिंसाविरुद्ध विभिन्न काम गर्दै आएको र महिलामाथि हुने दमनका गतिविधिमा संलग्न नभएको पनि समूहले जनाएको छ । संस्थामा आबद्ध भएका महिलाहरू संस्थाको प्रतिनिधिको रूपमा कोही पनि नगएको प्रस्ट पार्दै अध्यक्ष तिम्सिनाले व्यक्तिगत रूपमा घटनामा संलग्न भएमा उनीहरूलाई पनि कारबाही हुनुपर्ने बताइन् ।
श्रीमानको निधनपछि सुरु भएको थियो झगडा
मृतक राईका श्रीमानको केही वर्षअगाडि निधन भइसकेको छ । राई परिवारको आर्थिक अवस्था कमजोर भएपछि विराटनगर अस्पतालमा रहेको मृतक श्रीमानको शव निकाल्नको लागि गोविन राईले आर्थिक सहयोग गरेका थिए । मृतक उषा राईको परिवार तीनै व्यक्तिको जग्गामा टहरा बनाएर बस्दै आएको थियो ।
स्थानीय बासिन्दाको भनाई अनुसार घरपरिवारका सदस्यबाटै बाटै मृतक उषा राई र गोविन राईको बारेमा चाहिने नचाहिने कुरा बाहिरिन थालेको थियो । एक-कान दुई कान हुँदै यी कुराहरू समाजमा फैलियो ।
घरमा किचलो भएपछि गोविन राईले मृतक उषाको परिवार बस्दै आएको आफ्नो जग्गा बेचे । त्यसपछि घरबार विहीन भएको उषाको परिवार त्यहीँ नजिकै रहेको कटुवाल थर भएको एक व्यक्तिकोमा डेरामा बस्न थालेका थिए ।
कुटपिट हुनुभन्दा दुई दिन अगाडि गोविन राईको परिवार र मृतकबिच जनप्रतिनिधिको रोहवरमा अव उप्रान्त दुई परिवार नभेट्ने सहमति भएको थियो । स्थानीयबासिका अनुसार गोविन्द राईले मानवीय नाताले श्रीमानको शव उठाउन मात्र सहयोग गरेका हुन् ।
सुनसरी प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दल कुमार राईले घटनामा संलग्न भएका महिलाहरूको तीव्र रूपमा खोजी कार्य जारी रहेको बताए । केही सञ्चारमाध्यममा कुटपिटमा संलग्नमध्ये छ जना पक्राउ परेको भनेर समाचार आएता पनि इलाका प्रहरी कार्यालय धरानको सञ्चार शाखाले भने अहिलेसम्म घटना संलग्न व्यक्तिहरू पक्राउ नपरेको बतायो ।