पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ । यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलन समेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ ।
जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँ खेती गर्दै आए पनि अहिले बाँझै रहेको बताए । विगतमा मंसिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो । यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुने पुनाखर यतिबेला फुर्सदिलो बनेका छन् । बाँदर आतङ्क बढ्दै गएपछि पुनाखरको सँगै जोडिएको विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छाडेका छन् ।
उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोडेका छन् । ‘धान जेनतेन थन्क्याउन सकिन्छ’, टीकारामले भने, ‘हिउँदे खेती जति नै प्रयास गर्दा पनि जोगाउन नसकेपछि आजित भइयो, लगाउनै छोडियो ।’ त्यसैगरी फलेवास–४ का रामप्रसाद गौडेलले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै एक हुल बाँदर पसेर सर्वनास पारिदियो । बिहादी गाउँपालिका–३ का रामु पराजुलीले सहकारीमार्फत बर्सेनि एक सय रोपनीमा सामूहिक आलुखेती गर्दै आएका थिए । तर बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो तीन वर्षयता आलु रोप्नै छाडेको बताए ।
‘एक पटक पल्केपछि खेती सखाप नपारेसम्म नछोड्ने रहेछ’, उनले बाँदरको हैरानीबारे भने, ‘हजारौं खर्च गरेर महिना दिनसम्म खटेको बाली एकै दिनमा सखाप पारिदिएपछि सबै किसान आजित भए । अहिले जति नै प्रयास गर्दा पनि आलुको व्यावसायिक खेती गर्न सकिएन ।’ बाँदरको हैरानी खेप्न नसकेका उनले दुई वर्षयता बाँदरबाट जोगिने बेसार, अदुवा, तोरीलगायत वैकल्पिक खेतीतर्फ लागेको बताए ।