नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज गठन भएको मन्त्रिपरिषद्मा २२ मन्त्रालय प्रधानमन्त्री मातहत नै राखिएको छ ।
राष्ट्रपति कार्यालय आज जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को मातहतमा २३ मन्त्रालय रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन तोकेकी हुन् ।
तीनवटा दलबाट तीनजना उपप्रधान सहित मन्त्रीको कार्यविभाजन तोकिएको भएतापनि आज शपथ लिएका चार मन्त्रीको भने कार्यभार पछि तोकिने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमालेबाट विष्णुप्रसाद पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेबारी तोकिदा, नेकपा (माओवादी केन्द्र) का नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेबारी तोकिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेबारी तोकिएको छ ।
एमालेबाट मन्त्री बनेका ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानको कार्य पछि तोकिने विज्ञप्तिमा उल्लेख छ ।
प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिँचाई; कानुन, न्याय तथा संसदीय मामिला; कृषि तथा पशुपंक्षी विकास; खानेपानी; परराष्ट्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफैँसँग राखेका छन् ।
शपथग्रहणका तस्बिरहरू